राजनीति

माओवादी नेता पुनले भने– नीति तथा कार्यक्रम दिशाहीन र निरस

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रमलाई निरस, परम्परागत र गन्तव्यविहीन भएको भन्दै कडा आलोचना गरेका छन्।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सरकारको स्पष्ट दृष्टिकोण नदेखिएको भन्दै पुनले असन्तुष्टि जनाए। उनका अनुसार, विगतमा नीति तथा कार्यक्रम स्पष्ट दिशासहित ल्याइने गरिन्थ्यो, तर यसपटक त्यसको कमी देखिएको छ।

“नीति गन्तव्यविहीन देखिन्छ, सरकार आफैँ अलमलमा परेको छ, संसदलाई छल्ने शैलीमा नीति ल्याइएको आभास हुन्छ,” पुनको भनाइ छ। उनले संसदलाई पास गराउनुपर्ने कार्ययोजना र कार्यक्रम नभई मनलाग्दी ढंगले बजेट बनाउने उद्देश्यले यस्तो गरिएको हुनसक्ने जिकिर गरे।

साथै, उनले शिक्षा क्षेत्र, विकास निर्माण र पूर्वाधार सम्बन्धी योजनामा उल्लेखनीय दिशा नदिइएको भन्दै सरकारप्रतिको विश्वास न्यून हुने सम्भावना औंल्याए। “शिक्षक आन्दोलन सकिएको केही समयमै आएको नीति तथा कार्यक्रममा शिक्षा सुधारको ठोस योजना नआउनु दुर्भाग्यपूर्ण हो,” उनले टिप्पणी गरे।

पुनले वर्तमान सरकारले पछिल्ला सरकारका प्रतिबद्धता न त कार्यान्वयन गरेको न त त्यसबारे कुनै स्पष्टता दिएको भन्दै आलोचना गरे। उनले नीति तथा कार्यक्रमले दिने संकेतअनुसार बजेट पनि निरस र अमूर्त आउने सम्भावना रहेको धारणा व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *