देश

अध्यादेशको उद्देश्य नागरिक हितमा भएको प्रधानमन्त्रीका सल्लाहकार असीम साहको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा स्वार्थ समूहका लागि नभई नागरिक हित र सेवा प्रवाह सुधारका लागि भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले कानुनी जटिलताका कारण जनसरोकारका काम रोक्न नहुने लोकतान्त्रिक मान्यताअनुसार अध्यादेश ल्याइएको बताएका छन् ।

उनका अनुसार राज्य संयन्त्रलाई प्रभावकारी बनाउन र सार्वजनिक सेवा प्रवाह तथा प्रशासनिक प्रणालीमा रहेका नीतिगत समस्या समाधान गर्न सरकारले कदम चालेको हो । सोहीअनुसार वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू अध्यादेशका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको उनले उल्लेख गरेका छन् ।

साहले राजनीतिक नियुक्ति प्राप्त पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरिए पनि व्यवहारिक कार्यान्वयनमा कठिनाइ देखिएपछि अध्यादेश ल्याउनुपरेको दाबी गरेका छन् ।

सरकारले सिफारिस गरेका ६ अध्यादेशमध्ये निजामती कर्मचारीको ट्रेड युनियन तथा राजनीतिक नियुक्तिसम्बन्धी व्यवस्था, विश्वविद्यालयका पदाधिकारी परिवर्तन, संवैधानिक परिषद्सम्बन्धी प्रावधानलगायत विषय समेटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *