काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो समय शिक्षक आन्दोलनमा देखिएको हिंसात्मक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले आन्दोलनको मूल मर्म भुल्दै केही शिक्षकहरूले पेशागत मर्यादा तोडेको टिप्पणी गरेका छन्।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले चैत १५ गते राजावादीहरूले सञ्चालन गरेको हिंसात्मक गतिविधि असफल भएपछि आएको स्पष्ट सन्देशलाई बेवास्ता गर्दै शिक्षक आन्दोलनलाई हिंसात्मक मोडमा लैजान खोजिएको बताए।
उनका अनुसार निषेधित क्षेत्र तोड्नु, ढुङ्गामुढा गर्नु र जथाभावी भिडन्त निम्त्याएर सरकारलाई पानीको फोहोरा प्रयोग गर्न बाध्य बनाउनु आन्दोलनको भावना विपरीत हो। यस्ता असंयमित गतिविधिले न आन्दोलनका उद्देश्यहरू पूरा हुन्छन्, न त देश र शिक्षाक्षेत्रलाई नै लाभ हुन्छ,बस्नेतले लेखेका छन्।
बस्नेतले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बेला देखिएको हिंसात्मक प्रवृत्तिले वार्ता प्रक्रिया अवरुद्ध गर्ने खतरा निम्त्याएको र सरकारविरुद्ध षड्यन्त्र गरिरहेका शक्तिहरूलाई अनावश्यक रूपमा बल दिएको समेत उल्लेख गरेका छन्।
आन्दोलनका क्रममा घाइते भएकी पत्रकार सविना कार्कीसहित सबै घाइते शिक्षक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बस्नेतले सरकार र आन्दोलनरत शिक्षकहरूलाई संयमित भएर संवाद र सहमतिबाट समाधान खोज्न आह्वान गरेका छन्।
सहिष्णुता र समझदारी नै हाम्रो प्रमुख अस्त्र हो, बस्नेतले फेसबुकमा लेखेका छन्, समस्याको समाधान विचार र संवादबाटै सम्भव छ।





