काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तारपछि नवनियुक्त सदस्य सागर ढकाललाई औपचारिक रूपमा जिम्मेवारीमा प्रवेश गराएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
रास्वपाले वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकबाट संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गर्दै नयाँ सदस्यहरू मनोनयन गरेको थियो । सोही निर्णयअनुसार ढकालसँगै सरिताश्री ज्ञवालीलाई पनि सचिवालय सदस्यमा चयन गरिएको हो ।
सचिवालयमा नयाँ सदस्य थपिएसँगै उक्त निकायको आकार १६ सदस्यीय पुगेको छ । पार्टीले आन्तरिक व्यवस्थापन सुदृढ गर्न तथा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन सचिवालय विस्तार गरिएको जनाएको छ ।




