काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै छन्। पार्टी स्रोतका अनुसार उनले यही शुक्रबार दिउँसो मुम्बई प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
भ्रमणमा पार्टीका उपाध्यक्षसहित चार जना केन्द्रीय नेताहरू सहभागी हुनेछन् भने भट्टराईकी पत्नी तथा नेतृ हिसिला यमी भने टोलीमा नहुने जनाइएको छ।
प्रमुख उद्देश्य नेसपाको भारत शाखाको अधिवेशनमा सहभागिता जनाउनु भए पनि भ्रमण अवधिमा भारतमा उदाउँदै गरेका वैकल्पिक शक्ति दलका नेताहरू सँग भेटवार्ता हुने तयारी रहेको छ। यस्तो भेटघाटले क्षेत्रीय राजनीतिक सहकार्य र अनुभव आदान–प्रदानमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
टोली चैत १८ गते नेपाल फर्कने कार्यक्रम छ। केही दिनअघि गोरखामा बारी जोत्दै गरेको भट्टराईको ट्याक्टर चलाउने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। गाउँमा एक साता कार्यक्रम र घुमघामपछि उनी राजधानी फर्किएका हुन्।




