देश

काँग्रेसको इतिहास र विरासत जोगाउनु आजको आवश्यकता: सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्य–मान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्ने बताएका छन्।

नेता दमन पाख्रेलको जीवनीमा आधारित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने धारणा समाज र राष्ट्रका लागि घातक हुने बताए। काँग्रेसको विरासत दमन पाख्रेल, दुर्गानन्द झा र रामनारायण मिश्रजस्ता नेताहरूको बलिदानमा आधारित रहेको उल्लेख गर्दै त्यसको जगेर्ना गर्नु पार्टीको जिम्मेवारी भएको उनले स्पष्ट पारे।

आन्तरिक सुदृढीकरणका सन्दर्भमा उनले सार्वजनिक पदमा रहेका पार्टी प्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन दिए। पार्टी सञ्चालनका लागि अवैध आर्थिक स्रोत आवश्यक नरहेको उल्लेख गर्दै लेभी प्रणालीमार्फत पार्टी चलाउनुपर्नेमा उनले जोड दिए।

सभापति थापाले आगामी हप्तादेखि सातै प्रदेशको भ्रमण गर्ने र प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने जानकारी दिए। साथै, स्थानीय सरकारका प्रतिनिधिसँग अर्थतन्त्रको वर्तमान अवस्था र क्षेत्रीय प्राथमिकताबारे संवाद गरिने उनले बताए।

उनले सुशासनका विषयमा ‘शून्य सहनशीलता’ नीति अपनाइने उल्लेख गर्दै भ्रष्टाचारप्रति कडा रुख लिने संकेत दिए। काँग्रेसलाई सबै उमेर समूह, जाति र समुदायको साझा पार्टी बनाउन आवश्यक रहेको उनको भनाइ छ।

पार्टीभित्र एकता आवश्यक रहेको औँल्याउँदै उनले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू लचिलो हुन तयार रहेको बताए। विभिन्न नेताहरूका नाममा स्थापित प्रतिष्ठानहरूलाई व्यवस्थित गर्न पार्टीले पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *