काठमाडौं। लामो समयदेखि अवरुद्ध रहेको संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउने तयारीस्वरूप भोलि सोमबार प्रमुख दलका शीर्ष नेताहरूबीच महत्वपूर्ण बैठक बस्ने भएको छ। बैठकमा सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पुनः सक्रिय बनाउने विषयमा छलफल हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल काअनुसार, बैठकको प्रमुख उद्देश्य रोकिएको न्यायिक प्रक्रिया पुनः सुचारु गर्नु हो।
ूअघिल्लो पटक सर्च कमिटी गठन भए पनि प्रक्रिया टुंगिन सकेन। समितिको म्याद सकिएपछि काम अवरुद्ध भएको थियो। अब यसलाई अघि बढाउन बैठकमा छलफल हुनेछ, पूर्वमहान्यायाधीवक्ता समेत रहेका खरेलले भने। संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनपछि सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्य चयन गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च कमिटी गठन गरेको थियो।
समितिले आवेदन आह्वान,सूची तयार,आवेदकहरूसँग अन्तर्वार्ता लगायतका प्रक्रिया पूरा गरे पनि सिफारिस गर्न नसकी काम अधुरै छोडेको थियो। समितिको म्याद सकिएपछि प्रक्रिया रोकिएको थियो। सल्लाहकार खरेलका अनुसार, संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउनेमा सबै दल सहमत देखिएका छन्। तर, पुरानो समितिको म्याद सकिएपछि प्रक्रिया अघि बढाउन सकिएको छैन। सत्यनिरूपण प्रक्रिया लम्ब्याउनु हुँदैन भन्नेमा शीर्ष नेतृत्व एकमत छ। अब प्रक्रिया पुनः अघि बढाउन नयाँ पहल आवश्यक छ, खरेलले थपे।
नयाँ समिति गठनको सम्भावना भोलि बस्ने बैठकले तय गर्ने बुझिएको छ । सो बैठकमा नयाँ सर्च कमिटी गठन,आयोग पुनर्गठनको प्रक्रियालाई तीव्रता दिने,अवरुद्ध कानुनी प्रक्रियालाई गति दिने लगायत विषयमा छलफल हुने बताइएको छ।
संक्रमणकालीन न्याय प्रक्रिया २०६२. ६३ को जनआन्दोलनपश्चात् भएका मानव अधिकार उल्लंघन र द्वन्द्वकालीन घटनाहरूको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिन गठित आयोगहरू मार्फत अघि बढाइएको थियो। तर, आयोगहरूबीचको राजनीतिक असहमति र प्रक्रियागत अवरोधका कारण काम अधुरो छ। अबको बैठकबाट न्यायिक प्रक्रिया अघि बढाउने ठोस निर्णय हुने अपेक्षा गरिएको छ।




