अर्थ

गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु

रसुवा। यहाँको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङमा रेन्बो ट्राउट माछापालन सुरू गरिएको छ ।

हिमाली गाउँमा कृषि तथा पर्यटनलाई जोड्दै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले स्थानीय व्यवसायीले माछापालन सुरु गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकलाई लक्षित गरी होटल परिसरमै ट्राउट माछापालन सुरु गरिएको हो । होटल सञ्चालक तथा माछापालक सुजन तामाङका अनुसार पाहुनाको रूचिअनुसार ताजा माछाका परिकार ख्वाउन थालेपछि पर्यटक आकर्षित भएका छन् ।

समुद्र सतहदेखि करिब २६०० मिटर उचाइमा रहेको चिसोपानीमा पालिएको रेन्बो ट्राउट माछा अन्य स्थानको भन्दा स्वादिलो भएको माछाका पारखी मार लामा तामाङ बताउनुहुन्छ ।

काठमाडौँबाट दैनिक बस सेवा सञ्चालनमा आएकाले ज्येष्ठ नागरिक, विद्यार्थी तथा प्रकृति अध्ययनमा रुचि राख्ने युवाका लागि गतलाङ पुग्न सहज बनेको छ । मिश्रित वनस्पति, जैविक विविधता र हिमाली वातावरणको अवलोकन गर्न युवापुस्ता बढी आकर्षित हुन थालेको स्थानीयवासीले बताएका छन् । गतलाङमा होमस्टेसमेत सञ्चालन हुन थालेका छन् ।

तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने गतलाङ हाल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ उत्पादित सिमीको दाल, सिस्नुको तरकारी, मकै र फापरको ढिँडोजस्ता स्थानीय परिकारसँगै ताजा ट्राउट माछाले पर्यटकलाई विशेष स्वाद दिलाउन थालेको छ । स्थानीय फुर्पु तामाङका अनुसार गतलाङ पुग्ने अधिकांश पर्यटक खुसी र सन्तुष्ट भएर फर्कने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *