काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आफ्नै बोली भारी परेको छ ।
नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई अदालतले पक्राउ गरेर थुनामा राख्न आदेश दिएको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बेला भने संसद बैठकमा आएका थिए । पुस २६ गतको संसद बैठकमा उपस्थित भएकाबारे गृहमन्त्री रवि लामिछानेले पुस २७ गते राप्रपाको चियापानका बेला कोइरीलाई पक्राउ गर्न प्रहरी महानीरिक्षकलाई निर्देशन दिएको बताएका थिए ।
तर प्रहरीले अहिलेसम्म कोइरीलाई पक्राउ गरिसकेको छैन । बिहिबारको संसद बैठकमा समेत कोइरी उपस्थित हुनसक्ने आशंका गरिएको थियो । तर संसद बैठकमा बिहिबार भने कोइरी उपस्थित भएनन् । यसअघि पुस २७ गते कोइरीलाई पक्राउ गर्न निर्देशन दिइसकेको बताएका मन्त्री लामिछानेले बिहिबार भने आफ्नो यसअघिको भनाई केही सच्याएका छन् ।
उनले बिहिबार संसद भवनमा पत्रकारहरुसँगको कुराकानीमा सभामुखले सहयोग नगरेका कारण पक्राउ गर्न नसकेको भन्दै भनेका छन्,‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु, राज्यका निकायहरुलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउने छ । गलत काम गरेका मानिसहरु कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’
कोइरी एमाले सांसद हुन् । सांसदलाई कुनै पनि कसुरमा पक्राउ गर्न सभामुखको अनुमति आवश्यक हुन्छ । सभामुख समेत एमालेका देवराज घिमिरे निर्वाचित भएपछि रविको निर्देशन कार्यान्वयन हुनेमा आशंका समेत उत्पन्न भएको छ । यता रविले समेत यसअघिको आफ्नै भनाईलाई केही सच्याएको देखिएको छ ।




