काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेपछि थप उर्जावान बनाएको बताएका छन् ।
प्रचण्डसँगको भेटवार्ताबारे जानकारी दिदै उनले प्रचण्डले दिएको सुझावले थप उर्जावान बनेको बताएका हुन् । उनले प्रचण्डसँगको भेटवार्ताबारे जानकारी दिदै भनेका छन्,‘पछिल्लो पटक हामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्यौँ । आफ्नो राजनीतिक यात्राका बारेमा बताउँदै उहाँले भन्नु भयो, हतियारबाट राजनीति भयो । आलोचना र कतिपय अवस्थामा गालीगलौजकै स्तरको राजनीति पनि भयो । तर तपाईले कसैको आलोचना नगरी नयाँ किसिमबाट राजनीतिमा प्रवेश गर्नु भयो । यो परिवर्तन मात्रै भएको होइन, नेपालमा नयाँ किसिमको राजनीतिक र सामाजिक क्रान्ति भएको हो । उहाँबाट प्राप्त सुझाव र हौसलाले हामीलाई थप उर्जावान बनाएको छ । जनजीविकाको सवालमा कसले धेरै भन्दा धेरैसँग सहकार्य गर्न सक्छ र कसले धेरै विकाश गर्न सक्छ भन्नेमा अबको राजनीतिक प्रतिष्पर्धा हुनु पर्छ भन्ने हाम्रो विचारप्रति थप दृढ बनाएको छ ।
बालेन्द्रले आज बिहानमात्रै अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । सबैभन्दा पहिला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका मेयर बालेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मासँग समेत भेटवार्ता गरेका थिए ।




