काठमाडौँ ।नेकपा एमालेले पार्टीको एकतालाई सुदृढ बनाउने गरी १० बूँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
आन्तरिक एकता कायम गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रिय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो ।
बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायहरुको बारेमा छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए।
उपाध्यक्ष रावलसँगै बैठकमा सहभागी कार्यदलका सदस्य लेखराज भट्टले भने सुदूरपश्चिमको इन्चार्ज आफू नै रहेको प्रतिक्रिया सञ्चारकर्मीलाई दिएका छन् । पत्रकारको जिज्ञासामा उनले भने, ‘इन्चार्ज त मै हुँ ।’त्यसका लागि २०७५ जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढ्ने विषयमा पनि छलफल गरिएको कार्यदलका सदस्य लेखराज भट्टले बताएका छन् ।
कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।




