काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र साहको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने नारामाथि कटाक्ष गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको नारा आकर्षक भए पनि कार्यशैली असंवेदनशील रहेको टिप्पणी गरे। बागमती किनारबाट विस्थापित नागरिकका आँसु देख्दा नेपाल हाँसेको कि रोइरहेको भन्ने प्रश्न उठाएको उनले बताए।
ज्ञवालीले संविधानले परिकल्पना गरेको लोककल्याणकारी तथा समाजवादउन्मुख राज्यको लक्ष्य सरकारको वर्तमान व्यवहारसँग मेल नखाने बताए। आवास, खाद्य, रोजगारी र स्वच्छ वातावरणजस्ता मौलिक हक सुनिश्चित गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ।
विकास मानवकेन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले सुकुम्बासी बस्ती हटाउने क्रममा अपनाइएको बल प्रयोगप्रति आपत्ति जनाए। “हजारौँ सुरक्षाकर्मी परिचालन गर्न सक्ने सरकारले केही समय लिएर प्रमाण जाँच र समाधान खोज्न सक्थ्यो,” उनले भने।
उनले सरकार गठनको सय दिनसम्म आलोचना नगर्ने परम्परा भए पनि वर्तमान कार्यशैलीका कारण मौन बस्न नसकिएको बताए। लोकतान्त्रिक अधिकारहरू संकुचनतर्फ उन्मुख भएको संकेत देखिएको उनको भनाइ छ।
ज्ञवालीले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन अधिकार र मिडियामाथि नियन्त्रणका प्रयासप्रति चिन्ता व्यक्त गर्दै सुधार आवश्यक भए पनि अधिकार कटौती गर्न नहुने बताए। उनले वर्तमान अवस्था “निर्वाचित सर्वसत्तावादतर्फ जाने संकेत” भएको चेतावनी दिए।
अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले संसद सञ्चालन गरेर विधेयकमार्फत नै कानुन बनाउनुपर्नेमा जोड दिए।




