काठमाडौं । नेपालले लामो समयदेखि बालबालिकाको जीवनलाई जोखिममा पार्दै आएको संक्रामक रोग रुबेला निवारणमा सफलता हासिल गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई रुबेलामुक्त घोषणा गर्दै यो उपलब्धिलाई ऐतिहासिक सार्वजनिक स्वास्थ्य सफलता भनेको छ ।
सन् २०१२ देखि सुरु गरिएको राष्ट्रिय खोप अभियानमार्फत नेपालले ९५ प्रतिशतभन्दा बढी बालबालिकामा रुबेला खोप पुर्याउन सफल भएको हो । कोभिड–१९, भूकम्प जस्ता चुनौतीपूर्ण अवस्थामाझ पनि निरन्तर चलाइएको खोप अभियानले यो उपलब्धि सम्भव भएको डब्लुएचओले जनाएको छ ।
डब्लुएचओ दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा। क्याथरिना बोएह्मले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई पठाएको बधाई सन्देशमा नेपाल सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र साझेदारहरूको भूमिकाको उच्च प्रशंसा गरिएको छ ।
स्वास्थ्य मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत यो उपलब्धि सरकारको दृढ इच्छाशक्ति, स्वास्थ्यकर्मीहरूको अहोरात्र परिश्रम र नागरिक समाजको सक्रिय सहभागिताको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।
रुबेला र दादुरा दुवै अति संक्रामक रोग मानिन्छन् । चिकित्सकका अनुसार संक्रमित व्यक्तिबाट हावा वा छिटामार्फत सजिलै फैलने यी रोग विशेषगरी ५ वर्षमुनिका बालबालिकामा घातक हुने गर्छन् । खोप नै यी रोग रोकथामको प्रभावकारी उपाय मानिन्छ ।
दक्षिण–पूर्वी एसिया क्षेत्रमा दादुरा र रुबेला उन्मूलनका लागि डब्लुएचओले सन् २०२६ सम्मको लक्ष्य तोकेको छ । नेपालले निर्धारित समयभन्दा पहिला नै सफलता हासिल गरेर क्षेत्रीय रूपमा उदाहरणीय उपलब्धि हासिल गरेको छ ।




