काठमाडौं । लामो वार्तापछि सरकार र शिक्षक महासंघबिच ९ बुँदे सहमति भएको छ। शिक्षामन्त्री रघुजी पन्त उक्त सहमति बोकेर मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट बाहिरिएका छन्। उनले सरकार र शिक्षक महासंघबिच सहमत भएको बताएका छन् ।
बैठकमा सहभागी एक सदस्यले भने, “९ वटा बुँदामा सहमति जुटिसकेको छ। अब मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि ती बुँदा सार्वजनिक हुनेछन्।” उनका अनुसार, क्याबिनेटबाट आउने निर्णयअनुसार केही बुँदामा संशोधन या थपघट हुनसक्नेछ।
सहमति अनुसार प्रमुख बुँदा शिक्षा ऐन आगामी असार १५ गतेभित्र ल्याउने विषयमा केन्द्रित छ। यही सहमति कार्यान्वयन भएपछि शिक्षकहरूको आन्दोलन स्थगन हुने संकेत देखिएको छ। मन्त्रिपरिषद् बैठकपछि सहमतिका बुँदा सार्वजनिक गरिने बताइएको छ। यसले लामो समयदेखि अस्तव्यस्त शिक्षाजगतलाई स्थायित्व दिने अपेक्षा गरिएको छ।
कक्षा १२ को परीक्षा वैशाख २१ बाटै सुरु हुने, शिक्षक–सरकारबीच सहमति




