काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमण भैंसी दोहेर दूध लिनका लागि नभएको बताएका छन् । आज (सोमबार) न्युयोर्क भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
तपाईको न्युयोर्क भ्रमणले मुलुकलाई के अर्थ राख्यो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘म कुनै भैंसी दुहुन गएर दूध लिएर आएँ भने जस्तो होइन ।’ उनले आफूले देशको तर्फबाट विचार र समस्याहरू राखेको बताएका छन् ।
‘हाम्रा विचारहरू, समस्याहरू राख्न गएको हो । राखियो । यी समस्याहरू एउटा देशका मात्रै होइन । ग्लोबल समस्या ग्बोबलले मिलेर समाधान गर्नुपर्छ भन्ने भयो,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले बाढी र पहिरोमा गर्न सक्नेसम्मको प्रयास गर्ने बताएका छन् ।
‘विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास तत्काल बैठक बसेर, तत्काल सेना प्रहरी खटेर उद्धार कार्य गरेको छ । अब बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । उद्धार गर्ने कुरा हो, राहत पुर्याउने कुरा हो । सूचना गरेर पहिरो जाँदैन’, उनले भने । सरकारले तदारुकताका साथ उद्धार र राहत पुर्याउने काम सरकारको भएको बताए । ओलीले काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना नगरिएको बताएका छन् । ‘काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना पनि थिएन । यस्तो कुरालाई वस्तुगत ढंगले लिनुपर्छ’, उनले भने ।




