काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले कर्णाली प्रदेशस्तरीय विचार गोष्ठी आयोजना गर्ने भएको छ । सुर्खेतमा हुने दुई दिने गोष्ठी जेठ २ र ३ गते सञ्चालन गरिने तय भएको हो ।
‘नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक गोष्ठीमा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ ।
कर्णाली प्रदेश महामन्त्री नीरञ्जन केसीका अनुसार कार्यक्रममा प्रदेश तथा जिल्लास्तरका वर्तमान र पूर्वपदाधिकारी, संघीय सांसद्, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख, जिल्ला समन्वय समितिका प्रतिनिधि, क्षेत्रीय सभापति तथा भ्रातृ संगठनका पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।
गोष्ठीमार्फत पार्टीभित्रको आन्तरिक एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे छलफल केन्द्रित हुने जनाइएको छ । पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि र नेतृत्व शैलीप्रति उठिरहेका प्रश्नबीच यो कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसैबीच, देउवा पक्षीय नेताहरूको बागमती प्रदेशस्तरीय भेलाले पनि पार्टीभित्र बढ्दो विवाद समाधानका लागि पूर्ण महासमिति बैठक बोलाउन माग गरेको छ । भेलाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य र संसदीय परम्परामा चुनौती देखिएको निष्कर्ष निकालेको छ ।
भेलाले पार्टी नेतृत्वले परामर्शबिना गरेका निर्णयले संगठनभित्र असन्तुलन सिर्जना गरेको आरोप लगाउँदै आगामी महाधिवेशन निष्पक्ष र सहमतिमूलक वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ । साथै क्रियाशील सदस्यता, विधान संशोधन र अनुशासन कारबाहीका विषयमा पनि नेतृत्वको कार्यशैलीप्रति असहमति व्यक्त गरिएको छ ।




