काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार ललितपुरमा प्रदर्शन गरेको छ। आन्दोलनकारीहरू राष्ट्रिय मानव अधिकार आयोगको हरिहर भवनस्थित केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ब्यानर र प्लेकार्डसहित आयोगले तयार पारेको भनिएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका थिए। उनीहरूले आन्दोलनसँग सम्बन्धित घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ गरिएको भन्दै असन्तुष्टि जनाए।
धर्नाका क्रममा केही प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार १० जनालाई नियन्त्रणमा लिइएको छ, जसमा ९ पुरुष र १ महिला रहेका छन्।प्रदर्शनकारीहरूले आयोगले मानव अधिकारसँग जोडिएका संवेदनशील विषयमा पारदर्शी भूमिका निर्वाह गर्नुपर्ने माग गर्दै प्रतिवेदन लुकाएर राख्न नहुने बताएका छन्।




