काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ताइवान मुद्दालाई लिएर भएको छलफलपछि ताइवानले चिनियाँ सैन्य गतिविधि रोक्न आग्रह गरेको छ । बेइजिङमा भएको भेटमा सी चिनफिङले अमेरिकाले ताइवानलाई सहयोग गरे दुई देशबीचको सम्बन्ध “खतरनाक मोडमा” पुग्ने चेतावनी दिएको बताइएको छ ।
उक्त छलफलपछि अमेरिकी पक्षले औपचारिक प्रतिक्रिया नदिएको ताइवानका सञ्चारमाध्यमहरूले जनाएका छन् । ताइपेई टाइम्सका अनुसार ताइवानबारे पत्रकारहरूको प्रश्नमा राष्ट्रपति ट्रम्पले कुनै टिप्पणी नगरी बैठकबाट बाहिरिएका थिए ।
ताइवानको मेनल्यान्ड अफेयर्स काउन्सिलका प्रवक्ता ल्याङ वेन चिएले ताइपेईमा पत्रकारसँग बोल्दै अमेरिका–चीन संवादमा ताइवान मुद्दा अनिवार्य रूपमा उठ्ने गरेको बताए । उनले ताइवानले अमेरिकी पक्षसँग निरन्तर समन्वय र संवाद कायम राख्ने उल्लेख गरे ।
प्रवक्ता वेन चिएले चीनको बढ्दो सैन्य गतिविधिप्रति चिन्ता व्यक्त गर्दै ताइवान जलडमरु क्षेत्रमा तनाव नबढाउन बेइजिङलाई आग्रह गरेका छन् । उनका अनुसार चीनको सैन्य दबाबले क्षेत्रीय स्थायित्वमा चुनौती सिर्जना गरिरहेको छ ।
ताइवान र चीनबीचको दूरी करिब १७० देखि १८० किलोमिटर रहे पनि केही टापु क्षेत्रहरू अत्यन्त नजिक रहेको उल्लेख गर्दै दुवै पक्षबीचको संवेदनशीलता उच्च रहेको विश्लेषण गरिएको छ ।
सन् १९४९ मा चीनमा गृहयुद्धपछि तत्कालीन राष्ट्रवादी सरकार ताइवानमा स्थानान्तरण भएपछि चीन र ताइवानबीचको राजनीतिक विवाद अहिलेसम्म समाधान हुन सकेको छैन । चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आए पनि ताइवानले स्वतन्त्र शासन प्रणाली सञ्चालन गर्दै आएको छ ।




