देश

निर्वाचन कानुन संशोधनबारे दलहरूसँग आयोगको छलफल सुरु

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरणका विषयमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न तयार गरिएको विधेयकको मस्यौदामाथि आयोगले मंगलबारदेखि छलफल थालेको हो ।

आयोगले सात वटा ऐनलाई एकीकृत गरी तयार पारेको विधेयकको मस्यौदा २०८० असार १८ गते सरकारलाई पठाएको थियो । तर उक्त मस्यौदा लामो समय गृह मन्त्रालयमा थन्किएपछि संसद् विघटनपश्चात् पुनः आयोगमै फिर्ता गरिएको थियो ।

विधेयकबारे सुझाव संकलन गर्न आयोगले वैशाख १५ गते राजनीतिक दलहरूलाई पत्राचार गरेको जनाएको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम शक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा तथा नेपाल मजदुर किसान पार्टीलगायत दलका प्रतिनिधिहरू सहभागी भएका छन् ।

आयोगको तर्फबाट कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *