जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयतालाई सफल बनाउन मेहनत गर्नुपर्ने बताएका छन् । आज (आइतबार) महोत्तरीको जलेश्वरमा पार्टीको कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष ओलीले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संघीयता पहिलो पटक आएकाले यसको कार्यान्वयन गर्नका आवेश र उत्तेजनाले नभई कार्यान्वयनका लागि स्वच्छता देखाउनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन’ (टीआरसी) को मस्यौदा मिलाएर पारित गरिने बताएका छन् । ‘टीआरसीको मस्यौदामा केही कुराहरू मिलेको छैन,’ ओलीले भने, ‘नेकपा एमालेले मस्यौदालाई मिलाएर पारित गर्ने पक्षमा छ । पीडितहरूले न्याय पाउनु पर्ने, ऐन पीडित केन्द्रित हुनुपर्ने, पीडितलाई पीडा थप्नु भएन, पीडितलाई जोरजुलुम गर्नु भएन, मानवताविरुद्धका जघन्य अपराधमा छुट नहुने गरी अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्ने गरी र सर्वोच्च अदालतको फैसलाअनुसार फेरि हिंसा नहुने गरी ऐन पारित गर्न एमाले तयार छ । ऐन पीडितमैत्री बन्नु पर्छ,’ उनले भने ।
उनले आफूले पाएको अधिकारलाई पनि स्वच्छ ढंगले प्रयोग गर्नुपर्ने बताएका हुन् । प्रदेश सरकारका बारेमा बोल्दै ओलीले जनतालाई प्रदेश सरकार आवश्य छ भन्ने बोध हुने गरी काम गर्ने आग्रह समेत गरेका हुन् । ‘अहिले जनता के भन्न थालेका छन् भने, ‘प्रदेशका मन्त्रीले झण्डा हलाएर मात्र के हुन्छ काम त केही भएन । यो भन्ने मौका दिनु भएन ।’ ओलीले भने, ‘जनताले के ठानोस् भने संघीयता आवश्यक छ, प्रदेश आवश्यक छ, स्थानीय तह आवश्यक छ । उनीहरूले राम्रो काम गरेको छ । यसरी काम गरौं ।’
उनले सबै तहका सरकारले सबैलाई अधिकार दिनुपर्ने जनाउँदै भने, ‘तर संघले र स्थानीय तहहरुले प्रदेशले सबैले कर्तव्य निर्वाह गर्ने कुरामा, आफ्नो भूमिका र जिम्मेवारिता बहन गर्ने कुरामा ध्यान दिनुपर्छ । हामीले हेरिरहेका छौं कति ठाउँमा प्रहरी नहुँदाखेरी प्रहरीलाई दुरुपयोग गरिरहेका छन् । कतिपय ठाउँमा अस्वस्थ्य खालको गतिविधि भइरहेको छ ।’
‘स्थानीय तहहरू अलिक कमजोर भएर हो नत्र त्यो नगरपालिकाहरूको १५ वेडको अस्पतालहरू रहेकोमा त्यो खोसेर प्रदेशले चलाउने भन्ने खालका विषयमा आतंक मच्चाउने काम भएको छ । प्रदेश सरकारको नाउँमा त्यस्तो हुनु पर्दैन’, उनले भने, ‘अहिले संघीयतालाई सफल ढंगले कार्यान्वय गर्नुपर्छ । संघीय सरकारहरूको काम कारवाहीले संघीयता अप्ठेरोमा परेको छ । प्रश्न उठ्न थालेको छ, किन उठछ ? राम्रो काम भएन, जनताले सेवा पाएन, सुविधा पाएन, विकास निर्माणको काम भएन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संघीयतामाथि अहिले प्रश्न उठाउने समय नभएर सफल बनाउने बेला रहेको बताएका हुन् । उनले संघीयता संविधानमा व्यवस्था रहेकाले त्यसलाई कार्यान्वयन गर्न नपाउँदै हटाउने सुरु गर्ने तरिका सही नभएको बताए । ‘प्रदेशले स्थानीय तहको कुरा गरिरहेको छैन । प्रदेशले स्थानीय तहको अधिकारको कुरा गर्नुपर्छ । स्थानीय तहहरूमाथि यो प्रदेशकै सरकारले मन्त्रीहरूले पृष्ठभागमा बसेर स्थानीय तहहरूमथि थिचोमिचो गरेको, आतंक मचाएको त्यो देखनुपर्छ कि पर्दैन । त्यसकारण संघीयता भनेको यो प्रदेश सरकार मात्रै होइन । तीनवटै तह मिलेर संघीयता बनेको हो’, उनले भने ।
यस्तै, उनले राजनीतिकर्मीले प्रहरीलाई चलाउँदा धेरै बिग्रेको बताएका छन् । उनले प्रहरीलाई आफ्नै ढंगले चल्द दिने परिपाटी हुनुपर्ने बताए । प्रदेश सरकारहरुले प्रहरी तथा निजामति कर्मचारी समायोजन गर्न भनिरहेको समय उनले भने, ‘हुनुपर्छ तर प्रहरी नभएर रोकियो भनेर होइन । आफ्नो मान्छेलाई भर्ना गर्न पाइएन हुन सक्छ । प्रहरी त छँदैछ ।’
उनले सरकारको क्रियाकलापको कारण हस्तक्षेपका कारण रेडक्रस पहिलो पटक मान्यता नपाएको बताए । उनले सरकारले रेडक्रसलाई आफ्नो कब्जामा हुनुपर्ने नभए नहुनुपर्ने भएकाले इतिहासमै पहिलो पटक नेपालको रेडक्रसले मान्यता नपाएको उनले बताए । ‘सरकारले बेठिक काम गरेकै छ, जथाभावी गरेको छ । एकलौटी हुनुपर्ने ठान्छ गठबन्धनले यो देश आफ्नै हो भनेर ठान्छ त्यो त बेठिक कुरा हो’, उनले भने ।




