समाचार

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।

एमाले उम्मेदवारी रहेकी विद्या भट्टराईलाई पराजित गर्दै गौतम निर्वाचित भएकी हुन् । गौतमले १४८ मत पाएकी छन् भने भट्टराईले ९३ मत प्राप्त गरिन् । मतदानमा २४२ मत खसेको थियो ।भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समेत समर्थन गरेका थिए । पराजित एमालेकी भट्टराईले ९३ मत ल्याइन् । उनलाई एमालेबाहेक राप्रपाले समर्थन गरेको थियो ।

६ माघ ०७६ मा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त थियो ।संसदको कार्यकाल नै सकिन लाग्दा भुसाल उपसभामुख निर्वाचित भएकी हुन् । कानून अध्ययन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् ।

उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने व्यवस्था छ । अब संवैधानिक परिषदमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाल तीनजना हुनेछन् ।

अर्कोतर्फ प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *