देश

भारतीय अवरोधले संकटमा नेपाली चिया, सुहाङ नेम्वाङको सरकारलाई कूटनीतिक पहलको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले भारततर्फ हुने नेपाली चिया निर्यातमा देखिएको अवरोध तत्काल हटाउन सरकारसँग प्रभावकारी कूटनीतिक पहल गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै इलाम–२ बाट निर्वाचित सांसद नेम्वाङले भारतीय पक्षले लागू गरेको नयाँ प्रावधानका कारण नेपाली चिया उद्योग गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् ।

नेपालमा चिया खेतीको १६३ वर्ष लामो इतिहास रहेको उल्लेख गर्दै उनले यो क्षेत्र केवल कृषि उत्पादनमा सीमित नभई ग्रामीण अर्थतन्त्र, रोजगारी र निर्यातसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण आधार बनेको बताए ।

“वि.सं. १९२० मा इलामबाट सुरु भएको चिया खेती आज हजारौँ किसान र श्रमिकको जीवनसँग जोडिएको क्षेत्र बनेको छ,” नेम्वाङले सदनमा भने, “१५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिक चिया क्षेत्रमै निर्भर छन् ।”

उनले आर्थिक वर्ष २०८१/८२ मा मात्रै नेपालबाट करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको तथ्यांक प्रस्तुत गर्दै अहिलेको अवरोधले राष्ट्रिय अर्थतन्त्रमै असर पार्ने चेतावनी दिए ।

सांसद नेम्वाङका अनुसार भारतको टी बोर्डले वैशाख १८ गतेदेखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर’ पछि नेपाली चिया निर्यात लगभग ठप्प बनेको छ । गुणस्तर र प्रक्रियाका नाममा थपिएका जटिल प्रावधानका कारण सीमामा नेपाली चिया रोकिएको उनले बताए ।

यसले किसान, श्रमिक, उद्योगी र निर्यात व्यवसायी सबैलाई प्रत्यक्ष असर पारेको उल्लेख गर्दै उनले सरकारले भारतसँग तत्काल उच्चस्तरीय संवाद अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

नेम्वाङले नेपाली चियालाई भारतीय तथा अन्तर्राष्ट्रिय बजारमा निर्वाध पहुँच सुनिश्चित गर्न र चिया क्षेत्रको दीर्घकालीन संरक्षणका लागि स्पष्ट राष्ट्रिय नीति ल्याउन पनि सरकारसँग माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *