काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विवाद चर्किरहेका बेला सभामुख डीपी अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुने–नहुने विषयमा छलफल तय भएको जानकारी दिएका हुन् ।
सभामुखले सदनलाई जानकारी गराउँदै बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने तयारी रहेको बताए । उनले प्रधानमन्त्रीको स्वास्थ्य तथा उपस्थितिको अवस्थाबारे तत्काल निर्णय दिन नसकिने उल्लेख गर्दै त्यसबारे छलफलपछि मात्र निष्कर्ष आउने बताए । “आजको सभा सकिएपछि प्रधानमन्त्रीसँग संवाद गर्ने कुरा छ,” सभामुख अर्यालले भने, “जवाफ दिने क्रममा उहाँ उपस्थित हुन सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने विषयमा अहिले नै निर्णय दिन सकिँदैन ।”
उनले भोलिको बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि प्रधानमन्त्रीसँगको छलफलपछि कार्यव्यवस्था परामर्श समितिमा थप निर्णय गरिने जानकारी दिए । तर सभामुखको आश्वासनपछि पनि कांग्रेस सांसदहरूले अवरोध कायमै राखेका थिए । विपक्षी दलहरूको माग प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने रहेको छ । प्रधानमन्त्री शाहको लगातार अनुपस्थितिलाई लिएर संसद्मा सत्ता–प्रतिपक्षबीचको तनाव बढ्दै गएको छ ।




