देश

कांग्रेसलाई एकताबद्ध बनाउन सहमतिमूलक महाधिवेशन आवश्यक : डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी अहिले जटिल राजनीतिक मोडमा रहेको भन्दै संगठनलाई एकताबद्ध बनाउने दिशामा साझा सहमति आवश्यक रहेको बताएका छन् ।

शेरबहादुर देउवा पक्षद्वारा आयोजित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै महतले देशमा लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय अभ्यासमाथि नै प्रश्न उठ्ने परिस्थिति सिर्जना भइरहेका बेला कांग्रेसले थप जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले विशेष महाधिवेशन सबै पक्षको सहभागिताविना सम्पन्न भएको उल्लेख गर्दै त्यसबाट आएको नेतृत्वले पार्टीभित्र पूर्ण एकता कायम गर्न कठिन हुने धारणा राखे । बहुसंख्यक महासमिति सदस्य सहभागी नभए पनि निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई कानुनी मान्यता दिएको स्मरण गराउँदै उनले राजनीतिक रूपमा भने पार्टीलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

महतका अनुसार कांग्रेसलाई आन्तरिक विवादभन्दा माथि उठाएर बृहत्तर एकताको दिशामा लैजान अहिलेको मुख्य आवश्यकता हो । उनले आगामी १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र सहभागितामूलक ढंगले सम्पन्न हुनुपर्नेमा जोड दिए ।

“स्थानीय तहदेखि केन्द्रसम्म साझा सहमतिका आधारमा अधिवेशन प्रक्रिया अघि बढाउनुपर्छ,” उनले भने, “सम्मानजनक ढंगले महाधिवेशन सम्पन्न गर्न सहमतिमूलक संयन्त्र निर्माण आवश्यक छ ।”

क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि महतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले टुंगो लगाइसकेको विषयलाई पुनः अनावश्यक रूपमा विवादमा ल्याउन नहुने बताए ।

पार्टी विधानलाई मनपरी ढंगले प्रयोग गर्न नहुने उल्लेख गर्दै उनले विधानसम्बन्धी विषय महासमिति वा महाधिवेशनमार्फत मात्रै टुंग्याउनुपर्ने धारणा राखे । साथै विशेष अधिवेशनबाट आएको नेतृत्वले भ्रातृ तथा शुभेच्छुक संगठनमा एकपक्षीय निर्णय लिने प्रवृत्ति बढाएको आरोपसमेत लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *