काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानमा उल्लेख गरिए अनुसारको स्वास्थ्य सेवाको पँहुच सबै जनतामा नपुगेको बताएका छन् । बिहिबार राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘संविधानमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन, मौलिक हकमा नैसर्गिक अधिकार लेखेपनि अहिलेसम्म सबै ठाउँमा यस्तो स्वास्थ्य सेवाको पँहुच नपुगेको उनको भनाइ छ ।
लगानी भएका तर नतिजा नदेखिएका स्थानको बजेट कटौती गरेर भने आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउने ढंगले अघि बढेको उनले बताए । लगानी गरे ठाउँमा अहिले अलि परिणाम नदेखिएको ठाउँमा कटौती गरेर प्रभावकारी एवम निःशुल्क आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा स्वास्थ्य मन्त्रालय पछि नपर्ने समेत मन्त्री बस्नेतले उद्घोष गरे ।
राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ तोके पनि जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल भएको जानकारी उनले बताए ।




