देश

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहका उपस्थितिको माग गर्दै आसनबाट उठेर विरोध जनाएपछि सदनको कारबाही स्थगन भएको हो ।त्यसअघि बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताएका थिए ।

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यक्रम थियो ।आकस्मिक समय र शून्य समयमा सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेपछि सभामुख डिपी अर्यालले आव २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको जानकारी गएका थिए । त्यसलगत्तै विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आसनबाट उठेर विरोध जनाए ।

सदनको कारबाहीमा अवरोध भएपछि सभामुख अर्यालले पटकपटक सदनलाई मर्यादित बनाउन आग्रह गरे। विपक्षी दलका सांसदहरुलाई आफूले बोल्न दिने आग्रह गर्दै सभामुखले सदनलाई मर्यादित बनाउन र सदनलाई नियमित सञ्चालन गर्नुपर्ने बताए ।

विपक्षी दलका सांसदहरुले लगातार विरोध जनाएपछि प्रमुख विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई बोल्न समय दिए । सांसद केसीले प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको दोहोर्याए । उनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको, सांसदहरुको धारणा सुन्नुपर्ने र जवाफ दिनुपर्नेमा जोड दिए । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने बेलामा नआए पनि सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रम जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज भएकाले छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐनबहादुर महरले कार्यसूचीमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने विषय उल्लेख भएको बताउँदै उनको सदनमा उपस्थिति आवश्यक छ भने ।

सोही दलका सांसद गुरु बरालले प्रधानमन्त्रीको सदनमा उपस्थिति आवश्यक भएकामा जोड दिए ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको अनुपस्थितिमा उनका तर्फबाट मन्त्रीले छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेस गर्नसक्ने व्यवस्था संसद्को नियमावलीमा रहेको जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय संसद्मा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको र आफूहरुले उनको धारणा सुन्न पाउनुपर्ने बताए ।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि सदनमा प्रधानमन्त्रीको उपस्थिति आवश्यक भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *