काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीको १५औँ महाधिवेशनको विषयमा बढी आलोचना गरेर विवाद सिर्जना गर्नुको सट्टा सहमति र सहकार्यको तयारीमा जुट्नु्पर्ने बताएका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उनले महाधिवेशनका मितिमाथिको विवादलेभन्दा तयारी र प्रतिबद्धतामै ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन्।
सभापति शेरबहादुर देउवाको नजिक मानिने नेता कार्कीले भने, “महाधिवेशनको मिति तोक्ने सवालमा मिडियामा बहस गर्नुको सट्टा, हामी सबै त्यसको तयारीमा लाग्नुपर्छ। यो केवल सभापतिको जिम्मा होइन, पूरै कार्यसमितिको साझा दायित्व हो।” उनले १४औँ महाधिवेशन समयमा सम्पन्न भएको उदाहरण दिँदै देउवाको नेतृत्वमा फेरि पनि पार्टीले वैधानिक प्रक्रियाअनुसार महाधिवेशन गराउने विश्वास व्यक्त गरे।
कार्कीका अनुसार १५औँ महाधिवेशनले कांग्रेसको भविष्य मात्र नभई देशको राजनीतिक दिशानिर्देशन पनि तय गर्नेछ। उनले भने, “महाधिवेशन यस्तो हुनुपर्छ जसले देशको नेतृत्व कांग्रेसले मात्र गर्न सक्छ भन्ने सन्देश देओस्।”उनले सबै जाति, भाषा र समुदायको समावेशी सहभागिता सुनिश्चित गर्दै अधिवेशन प्रक्रिया वडा तहदेखि नै गम्भीरतापूर्वक अघि बढाउन आग्रह गरे।
नेता कार्कीले सभापति देउवाप्रति अन्तर्राष्ट्रिय जगतले समेत विश्वास राखेको दाबी गर्दै भने, “उहाँको नेतृत्वमा कांग्रेस मात्र होइन, देशले पनि धेरै अपेक्षा गरेको छ।” नेता कार्कीको भनाइले कांग्रेसभित्र महाधिवेशनबारे भइरहेका विवादलाई ‘अवांछनीय प्राथमिकता’ को रूपमा व्याख्या गरेको छ। तर महाधिवेशनको समयमै आयोजना र आन्तरिक लोकतन्त्रको अभ्यास सुनिश्चित गर्न, अब पार्टीले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्न आवश्यक देखिन्छ। कुराकानी होइन, कामले कांग्रेसको विश्वसनीयता निर्धारण गर्नेछ।




