राजनीति

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा सरकार : काम नगर्ने ‘आउट’, नयाँ अनुहारलाई अवसर

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद्लाई नयाँ स्वरूप दिने गरी काम अघि बढ्ने स्रोतले जनाएका छन्।

गृहकार्य सुरु भइसकेको यो फेरबदलमा काम नगर्ने मन्त्रीहरू आउट हुने सम्भावना बलियो बनेको छ। कांग्रेस र एमाले दुवै दलमा ‘पालो पुर्‍याउने’ समझदारीसहित कार्यक्षमता कमजोर देखिएका मन्त्रीहरूको स्थानमा नयाँ अनुहार पठाउने तयारी छ।

सहरी विकास मन्त्री प्रकाशमान सिंह नेतृत्वमा सरकारमा रहेका कांग्रेसका १० मन्त्रीमध्ये गृहमन्त्री, पर्यटनमन्त्री बद्री पाण्डे, कृषि मन्त्री रामनाथ अधिकारी, कानुन मन्त्री अजय चौरसिया, र ऊर्जामन्त्री दीपक खड्का जस्ता मन्त्रीहरूको कार्यसम्पादनमाथि आन्तरिक असन्तुष्टि बढ्दो छ। देउवाले यीमध्ये धेरैलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने तयारी गरेका छन्। केही समयअघि गृहमन्त्रीमाथि आलोचना बढेपनि पछिल्लो समय विगतका सरकारले नगरेका महत्वपूर्ण निर्णयलाई निरन्तर अगाडी बढाएपछि अहिले उनको प्रशंशा हुन थालेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वमा सरकारमा रहेका ८ मन्त्रीमध्ये सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि मन्त्री बलराम अधिकारी, उद्योग मन्त्री दामोदर भण्डारी, शिक्षा मन्त्री रघुजी पन्त लगायतको कार्यप्रति असन्तुष्टि रहेको स्रोत बताउँछ। ओली नयाँ अनुहारहरूलाई स्थान दिने मनस्थितिमा रहेको चर्चा एमालेभित्र तीव्र छ।

जसपा र लोसपाबाट सरकारमा गएका मन्त्रीहरू — खानेपानी मन्त्री प्रदीप यादव, महिला मन्त्री नवलकिशोर साह सुडी र श्रममन्त्री शरतसिंह भण्डारीको कार्यसम्पादनप्रति पनि असन्तुष्टि छ। कार्यक्षमता र प्रभावकारिता हेरेर केहीजना बाहिरिने सम्भावना उच्च देखिन्छ।

गठबन्धनको सहकार्यलाई सन्तुलित ढंगले अघि बढाउने र सरकारलाई जनतामुखी बनाउने रणनीतिसहित मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य चलिरहेको छ। प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको छलफलपछि नाम टुंगिनेछ। अबको मन्त्रिपरिषद् फेरबदल केवल चेहराको अदल–बदल मात्र होइन, जनआकांक्षाको परीक्षण पनि बन्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *