काठमाडौं । सिन्धुली हिरासतमा भएको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झन्लीडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु घटनाबारे तथ्यगत छानबिन गर्न समिति गठन गरेको हो ।
जबरजस्ती करणी मुद्दामा पक्राउ परेका विक जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय खुर्कोटको न्यायिक हिरासतमा रहेका थिए । उनी वैशाख ७ गते बिहान हिरासत कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेस गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका एआईजी दिनेश कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिमा नेपाल प्रहरी प्रधान कार्यालय युएन शाखाका डीआईजी रविन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरोका इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक प्रेम रेग्मी र प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा सदस्य रहेका छन् ।
प्रहरीले समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।





