देश

सर्वोच्चका तीन प्रस्तावित न्यायाधीश र परिषद सदस्यको संसदीय सुनुवाइ सकियो, अनुमोदन भने बाँकी

काठमाडौं।संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद्को प्रस्तावित सदस्यको सुनुवाइ आज सम्पन्न गरेको छ। सिंहदरबारमा भएको समितिको बैठकमा न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य महेश नेपालको सुनुवाइ गरिएको हो। आइतबार प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ समितिले गरिसकेको थियो।

तीन न्यायाधीश र एक न्यायपरिषद् सदस्य गरी चारै जनाको सुनुवाइ सम्पन्न भइसकेको छ भने निर्णय अर्को बैठकबाट आउने जानकारी समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले दिइन्।

सुनुवाइ क्रममा प्रस्तावित न्यायाधीशहरूले आफ्नो योग्यता, क्षमता, रुचि, सोच र अवधारणा प्रस्तुत गर्दै संविधान र कानुनको सीमाभित्र रहेर निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। न्यायपरिषद्का सदस्यले पनि समान रूपमा आफ्नो योग्यता र कार्यक्षमता प्रस्तुत गर्दै न्यायसम्पादनमा निष्पक्षता र संवैधानिक मर्यादा पालना गर्ने विश्वास व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *