काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने समय आइसकेको बताएका छन्। स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो संकेत गरेका हुन्।
सभापति देउवाले पार्टीभित्र विद्यमान ‘एकले अर्कोलाई हराउने’ प्रवृति अन्त्य गरेर कांग्रेसलाई एकजुट बनाउनु अहिलेको आवश्यकता भएको बताए। उनले भने, “हाम्रो पार्टीमा एकले अर्कालाई छेक्ने, टिकट नपाउनेले अर्को समूह हराउने प्रयास गर्ने रोग छ। टिकट त एउटा नै हुन्छ नि। मेरो रिटायर्डको उमेर भइसक्यो। त्यसैले अब पार्टीलाई राम्रो बनाउनेतिर लाग्नुपर्छ।”
संविधान समावेशी र समानुपातिक भए पनि कुनै एक पार्टीले सजिलै बहुमत ल्याउन नसक्ने अवस्था रहेको उल्लेख गर्दै देउवाले गठबन्धन अपरिहार्य भएको बताए। उनले थपे, “हिजो माओवादीसँग मिलियो, आज एमालेसँग मिलिएको छ, त्यसका बाबजुद पनि हामी सबैभन्दा ठूलो पार्टी भएका छौं। तर, बहुमत छैन। हाम्रो पार्टी एक भयो भने एक्लै पनि बहुमत ल्याउन सक्छ।”
उनले अन्ततः यो संविधानलाई जोगाउनु पनि कांग्रेसको जिम्मेवारी भएको बताए।




