काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु अबको आवश्यकता भएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्युत्को प्रयोगले व्यापार घाटा मात्रै नघटाउने भन्दै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने जिकिर गरे । उनले पेट्रोल पदार्थको सट्टा विद्युतबाट नै धेरै कामहरु गर्न सकिने बताए । सभापति देउवाले विद्युतीय सवारीहरूको प्रयोग बढाउनुपर्ने र विद्युतीय सामाग्रीहरु पनि बढी उपयोग गर्न जरुरी रहेको बताए ।यसले जलवायु परिवर्तनका असर न्युनिकरणमा मद्दत पुग्ने उनको भनाइ छ ।
सभापति देउवाले भने ‘पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु अबको आवश्यकता पनि हो । तसर्थ व्यापार घाटामा मात्र होइन, अर्थतन्त्रमा पनि यसले सकारात्मक प्रभाव पार्नेछ । त्यसैले पेट्रोल पदार्थको सट्टा विद्युतबाट नै हामीले धेरै कामहरु गर्नसक्छौँ । विद्युतीय सवारीहरू बढाउनु पर्छ । अरु धेरै कुराहरू गर्न सकिन्छ ।’
सभापति देउवाले विद्यालय, विश्वविद्यालयमा जलवायु शिक्षा, बाढी प्रभावित क्षेत्रमा पूर्वसूचना प्रणाली, सुख्खा तराई क्षेत्रमा सिँचाइ र स्वच्छ खानेपानीको व्यवस्था, पहिरो प्रभावित पहाडी क्षेत्रमा भूक्षय रोकथाम कार्यान्वयन, हिमतालहरूको संरक्षणका साथै हिमालको फोहोर व्यवस्थापनमा स्थानीय जनस्तरसम्म पुग्ने अनुकूलका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी रहेको बताए ।
सरकारलाई सभापति देउवाको सुझाव : मनसुन सुरु हुन लाग्यो, पूर्वतयारीमा ध्यान दिनुस्
सभापति देउवाको आग्रह- सहजताको नाममा प्लास्टिकको प्रयोग नगरौँ
जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा




