राजनीति

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति पेचिलो मोडमा : भट्टलाई रोकेर ढुंगानालाई अघि सारिएकै हो त ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया सत्ता गठबन्धनभित्रको विवाद र असहमतिका कारण अझै अन्योलमा परेको छ। कांग्रेसले अघि सारेका डा. गुणाकर भट्टको नाम कार्यकारी गभर्नर निलम ढुंगानाले रोकिराखेपछि नयाँ नामका रूपमा ज्ञानेन्द्र ढुंगाना चर्चामा आएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिको विषयमा छलफल भए पनि सहमति कार्यान्वयनमा आउन सकेको छैन। कांग्रेसले अघि सारेका भट्टले राजीनामा दिए पनि त्यो पत्र अझै स्वीकृत गरिएको छैन। कामु गभर्नर निलमले राजीनामा स्वीकृत गर्न अस्वीकार गर्दै प्रतिस्पर्धी थप्न नचाहेको बताएकी छन्।

यसैबीच, नबिल बैंकका पूर्व सीईओ ज्ञानेन्द्र ढुंगाना गभर्नरको दौडमा अगाडि आएका छन्। कांग्रेसका केही नेताहरू ढुंगानालाई विवादरहित विकल्पको रूपमा अघि सार्न थालेका छन्। उनले गभर्नर बन्ने तयारीस्वरूप हालै नबिल बैंकबाट राजीनामा दिएका छन्।

यसअघि रवीन्द्र पाण्डे र राजेन्द्रकिशोर क्षेत्री पनि दौडमा थिए, तर उमेर हद घटाउने प्रयासमाथि सर्वोच्चमा रिट परेपछि उनीहरू दौडबाट बाहिरिएका छन्।

राष्ट्र बैंक गभर्नर नियुक्तिको विषयले अहिले सत्ता गठबन्धनकै स्थायित्वमा असर पार्ने संकेत देखिँदैछ। केन्द्रीय बैंक महिनौँदेखि गभर्नरविहीन रहँदा आर्थिक निर्णय प्रक्रियामा स्थायित्व नआएको विश्लेषकहरूको भनाइ छ। राष्ट्र बैंक ऐनअनुसार, गभर्नर नियुक्ति समयमै हुनुपर्ने भए पनि सरकारले ऐनको पालना नगर्दा कानुनी व्यवस्था पनि उल्लंघनमा परेको छ।

गभर्नर नियुक्तिमा कांग्रेसले वैकल्पिक बाटो रोज्नुपर्छ : सभापति देउवा

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *