राजनीति

गभर्नर नियुक्तिमा कांग्रेसले वैकल्पिक बाटो रोज्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पेचिलो मोड आएको छ। कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले अब वैकल्पिक उम्मेदवारतर्फ ध्यान दिन थालेको छ।

शुक्रबार सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पार्टी पदाधिकारी बैठकमा गभर्नर नियुक्तिको विषयमा गम्भीर छलफल भएको थियो। सभापति देउवाले “गभर्नर कांग्रेसकै हो, भट्ट नभए अर्को मान्छे पठाइन्छ,” भन्ने धारणा व्यक्त गरेको सहभागी नेताहरूले बताएका छन्।

कामु गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि कांग्रेस एमालेसँग असन्तुष्ट बन्दै गएको बुझिएको छ । नेताहरूले उनलाई जिम्मेवारी अनुसार काम नगरेको भन्दै आलोचना गरे। राजीनामा स्वीकृत नगर्नुमा एमालेको हस्तक्षेप रहेको कांग्रेस नेताहरूको दाबी छ । प्रधानमन्त्री ओली र सभापति शेरबहादुर देउवाबिच गभर्नर कांग्रेसको हुनेमा सहमति गरेका थिए । तर पछि नेकपा एमालले बिचौलिया प्रयोग गरेर गभर्नर नियुक्ति पेचिलो बनाउँदै आएको छ । सरकारले धेरै लामोसमयसम्म गभर्नर नियुक्ति गर्न नसक्दा सरकारको असक्षमता भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । कांग्रेसले भने गभर्नर नियुक्ति चाँडै नियुक्ति गर्न भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

“स्वेच्छाले राजीनामा दिन पनि नपाइने? कामु गभर्नरले यसरी राजीनामा रोक्नुमा षड्यन्त्र छ,” एक नेताले भने। भट्ट गभर्नर बन्न नसके ढुंगाना वा अन्य व्यक्तिको नाम अगाडि सारिने संकेत मिलेको छ।

सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सहमति भइसकेको जनाउँदै “चाँडै सहमतिमा निर्णय हुन्छ,” भनेका छन्। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि “व्यावसायिक र प्रोफेसनल व्यक्तिलाई गभर्नर बनाउने सहमति भएको” जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *