देश

सहकारी ठगी प्रकरण: विर्तामोडको पातालग्गा सहकारीका पूर्वअध्यक्ष खनाल धनगढीबाट पक्राउ

झापा। विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरी झापा ल्याइएको जानकारी दिए। खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराइने प्रहरीले जनाएको छ।

खनालले विसं २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा रु दुई करोड छ लाख आठ हजार ३८३ ऋण निकालेर फरार भएका थिए। विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष ट्कप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए।

पातालग्गा सहकारीमा एक हजार ५०० भन्दा बढी सदस्य रहेका छन्। सदस्यको बचत हिनामिना गरेर खनाल फरार भएपछि त्यसपछि अध्यक्ष चयन भएका युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर निकालेको पैसाले बचतकर्ताको रकम फिर्ता भइरहेको बताएका छन्।

झापा जिल्ला अदालतबाट विसं २०७९ मङ्सिर १४ गते उक्त मुद्दाका पाँच जना आरोपीका नाममा हाजिर हुन आउने म्याद जारी भएको थियो। खनालकी बहिनी विर्तामोड नगरपालिका–२ निवासी गोमा खनाल भण्डारी र मामाससुरा भद्रपुर नगरपालिका–८ निवासी अनन्तजीवन लुइँटेल यसअघि नै पक्राउ परेका थिए। अदालतको आदेशबमोजिम रु एक लाख ५० हजार धरौटीमा गोमा खनाल भण्डारी र रु ७५ हजार धरौटीमा अनन्तजीवन लुइँटेल तारेखमा छुटेका थिए। हाल खनालकी पत्नी कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ।

झापामा सहकारीको बचत अपचलन गरेको अभियोगमा पक्राउ परेका अन्य सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शिवगञ्जस्थित सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई रु तीन करोड ३५ लाख ४०० हिनामिना गरेको अभियोगमा गत चैतमा प्रहरीले पक्राउ गरेको थियो। भुजेलविरुद्ध सम्बन्धित सहकारीले नै प्रहरीमा जाहेरी दिएको थियो।

यसैगरी, शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई सहकारीको बचत अपचलन गरेको अभियोगमा गत कात्तिकमा पक्राउ परेका थिए। अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईले मिलेमतोमा सहकारीमा सर्वसाधारणले राखेको बचत रु एक करोड ३९ लाख ७७० हिनामिना गरेको भनी प्रहरीमा जाहेरी परेको थियो। हाल यो मुद्दा झापा जिल्ला अदालतमा विचाराधीन रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *