काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। शुक्रबार साँझ बूढानीलकण्ठस्थित निवासबाट उनलाई नियन्त्रणमा लिइएको हो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा पठाउन आदेश दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार लामिछानेलाई आज राति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ र भोलि शनिबार मात्रै रूपन्देही लगिनेछ। उनलाई विमानमार्फत भैरहवा लैजाने तयारी भइरहेको छ।
यसअघि, रूपन्देही जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उच्च अदालतले सो आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।




