राजनीति

संसदले एकै दिन पारित गर्यो ५ विधेयक, राष्ट्रपतिको प्रमाणीकरणपछि ऐनमा परिणत

काठमाडौं । संघीय संसद्ले एकै दिन पाँचवटा विधेयक पारित गरी ऐनका रूपमा परिणत गरेको छ। सोमबार राष्ट्रिय सभा र प्रतिनिधि सभाले विधेयक पारित गर्ने प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई विधेयक ऐनमा रुपान्तरण भएका हुन्।

सोमबार राष्ट्रिय सभाले पाँचवटा विधेयकमाथि दफावार छलफल गर्दै सो विद्येयक पारित गरेको हो। सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक,सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,निजीकरण (पहिलो संशोधन) विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी ऐन संशोधन विधेयक पारित गरेको हो ।

सो विधेयकमध्ये पहिलो दुई सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र बाँकी तीन विधेयक अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेका थिए।

राष्ट्रिय सभाबाट पारित भइसकेपछि पाँच वटै विधेयक सोमबार नै प्रतिनिधि सभामा टेबुल गरियो। प्रतिनिधि सभाले विधेयकहरू पारित गर्दै तत्काल राष्ट्रपतिको कार्यालयमा प्रमाणीकरणका लागि पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नै विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिको हस्ताक्षरपछि पाँच विधेयक अब कानूनी रूपमा कार्यान्वयनयोग्य ऐन बनेका छन्। एकै दिन पाँच वटा विधेयक पारित गरी ऐनका रूपमा परिणत हुनु संसदका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *