काठमाडौं । नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालको दशौं महाधिवेशनमा प्रतिस्पर्धा निषेध गरिएपछि असन्तुष्टि चुलिएको छ। विराटनगरमा जारी अधिवेशनमा अध्यक्ष पदका आकांक्षी राजेश राईको भावुक सम्बोधनपछि माहोल नै रुवाबासीमय बनेको छ।
राईले आफूलाई चुनावी प्रक्रियाबाट नै रोकिएको गुनासो गर्दै महाधिवेशनस्थलमा मनोव्यक्त गरेपछि उनका समर्थकहरू भावुक बनेका थिए। प्रतिस्पर्धाविनै नेतृत्व चयनको निर्णय भएपछि, चुनाव लड्न चाहने राई समर्थकहरू निराश बनेका छन्।
राजनीतिक सभ्यताको परिचय दिँदै राईले भने, पदहरू अस्थायी हुन्छन्, तर विचार र विवेक स्थायी रहन्छ। प्रतिस्पर्धाविनै नेतृत्व तय गरिनु लोकतान्त्रिक मूल्यको उल्लंघन हो। उनको सम्बोधनपछि समर्थकहरू रोइरहेका थिए भने उनले सबैलाई सम्हाल्दै धैर्य राख्न आग्रह गरेका थिए। समर्थकहरू चुनावको अवसर नदिइएकोमा आक्रोशित देखिए पनि, राईले आफू अब पत्रकारितामै फर्किने संकेत गरेका छन्।
यसैबीच, अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार नयाँ नेतृत्वको औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ। तर, प्रतिस्पर्धाविनै हुने यो निर्णयप्रति असन्तुष्टि अझै मत्थर भएको छैन।




