मुख्य समाचार

मधेसमा नयाँ सत्ता समीकरणको दौड तीव्र, जसपा नेपाल अग्रपंक्तिमा

काठमाडौं । मधेस प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राजनीतिक समीकरण फेरबदलको चरणमा प्रवेश गरेको छ। नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल र भेटघाट तीव्र बनेको छ भने सत्ता केन्द्रित रणनीतिमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) अग्रसर देखिएको छ।

जसपा नेपालले नेकपा एमालेसँग सहकार्य गरेर नयाँ सरकार गठन गर्ने गृहकार्य अघि बढाएको छ। पार्टीका मधेस प्रदेशका शीर्ष नेताहरू हाल काठमाडौंमा केन्द्रित भई आन्तरिक छलफलमा जुटेका छन्। पार्टी स्रोतका अनुसार एमालेले समर्थन दिने संकेत गरिसकेको भए पनि मुख्यमन्त्री को हुने भन्ने विषयमा अन्तिम सहमति बन्न बाँकी छ। जसपा नेपालभित्र भने नेतृत्व चयनलाई लिएर स्पष्ट सहमति बन्न सकेको छैन। मुख्यमन्त्री पदका लागि जितेन्द्र सोनल, सरोज यादव र लालबाबु राउतको नाम चर्चामा छ। तीनै जना यसअघि मुख्यमन्त्री भइसकेका नेताहरू हुन्।

पार्टी अध्यक्ष उपेन्द्र यादवसँग आकांक्षी नेताहरूको निरन्तर छलफल भइरहेको स्रोतको भनाइ छ। तर, अर्कोतर्फ केही नेताहरू भने सरकारमा जान नहुने पक्षमा देखिएका छन्। उनीहरूले चुनाव नजिकिँदै गर्दा सरकारमा बस्नुको सट्टा संगठन सुदृढीकरण र निर्वाचन तयारीमा केन्द्रित हुनुपर्ने धारणा राखिरहेका छन्। जसपा नेपाल र लोसपा नेपालबीच केन्द्रमा एकताको घोषणा भए पनि मधेस प्रदेशमा संरचनागत एकता पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। दुवै दलले आ–आफ्नै दाबी कायम राख्दा सरकारमा सहभागिताबारे अन्योल देखिएको छ।

एमालेले पनि हालसम्म औपचारिक रूपमा कुनै दललाई समर्थन गर्ने निर्णय गरिसकेको छैन। एमाले संसदीय दलका नेता सरोज यादवले अहिले सरकार निर्माणभन्दा पनि राजनीतिक परिस्थिति स्पष्ट नभएको बताएका छन्। उनले आवश्यकता परे मात्र लिखित सहमतिका आधारमा सहयोग गर्न सकिने स्पष्ट पारे। सरकार गठन प्रक्रिया चलिरहे पनि प्रदेशमा विकास निर्माणका काम भने सुस्त रहेको नेताहरूले स्वीकार गरेका छन्। जसपा नेपालका सरोज यादवले बजेट विनियोजन भए पनि कार्यान्वयन कमजोर रहेको टिप्पणी गरेका छन्। उनका अनुसार नीति तथा कार्यक्रम अनुसारका अधिकांश योजनाहरू अघि बढ्न सकेका छैनन्।

जनमत पार्टीका १२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार थप कमजोर बनेको छ। यद्यपि पार्टीबाट मन्त्री रहेका केही प्रतिनिधिहरू अझै सरकारमै छन्, जसले आन्तरिक विवादलाई थप जटिल बनाएको देखिन्छ। मुख्यमन्त्री कृष्ण यादवले भने सरकार स्थिर रहेको दाबी गर्दै गठबन्धन दलहरूको समर्थन कायमै रहेको बताएका छन्। जसपा नेपाल र लोसपा नेपालबीचको एकता प्रक्रियाले पनि नयाँ समीकरणलाई प्रभावित गर्ने देखिएको छ। एकता पूर्ण भएमा जसपा नेपाल प्रदेशसभामा सबैभन्दा ठूलो दल बन्नेछ, जसले सरकारको नेतृत्व दाबीलाई थप बल दिनेछ। हाल मधेस प्रदेशमा एमालेसँग २४, कांग्रेससँग २२, माओवादी र एकीकृत समाजवादीसहित १५, जनमतसँग १२ तथा अन्य साना दलहरूको उपस्थिति रहेको छ। यस्तो अवस्थामा जसपा नेपाल केन्द्रित सत्ता समीकरण नै आगामी सरकारको निर्णायक बन्ने अनुमान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *