राजनीति

संविधान र लोकतन्त्रको रक्षा गर्नु नागरिकको जिम्मेवारी : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको बताउँदै यसलाई मजबुत बनाउन नागरिक सचेत रहनुपर्ने बताएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताको सार्वभौमिक अधिकारको रक्षा गर्दै शासन व्यवस्थालाई सुशासनयुक्त बनाउन सबै पक्ष उत्तरदायी हुनुपर्ने बताए।

ूसंविधानले प्रत्येक नागरिकलाई सार्वभौमसत्ता प्रदान गरेको छ। शासन व्यवस्थालाई सुदृढ गर्दै यही प्रणालीबाट नेपाली जनताको भविष्य सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व हो, राष्ट्रपति पौडेलले भने। उनले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासन नै समयको आवश्यकता र जनताको चाहना भएको उल्लेख गर्दै कुनै पनि निरंकुश प्रणालीलाई नेपाली जनताले स्वीकार नगर्ने स्पष्ट पारे।

ूइतिहासले देखाएको छ कि १०४ वर्षे जहानीयाँ राणा शासन, ३० वर्षे पञ्चायती व्यवस्था वा सक्रिय राजतन्त्रलाई नेपाली जनताले अस्वीकार गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र सहजै प्राप्त भएको होइन। यो हजारौं वीर सपूतको त्याग र संघर्षको प्रतिफल हो,उनले थपे।

राष्ट्रपति पौडेलले आफ्नो विगत स्मरण गर्दै पूर्वी पहाडका विभिन्न दुर्गम स्थानमा पुगेको अनुभव सुनाए। उनले टिम्बुरबोटेको ओडारमा यात्राका क्रममा झरीमा भिज्दै बिताएको क्षण सम्झिँदै भावुक बने। टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा तत्कालीन पंचायती सरकारले दर्जनभन्दा बढी आन्दोलनकारीको हत्या गरेको ऐतिहासिक स्थल हो। सो स्थानको नाम लिँदा राष्ट्रपति भावुक बनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *