राजनीति

रञ्जिता श्रेष्ठको असहमति पछि जनमत–नागरिक उन्मुक्ति पार्टी एकता अनिश्चित

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी बीचको एकता प्रक्रिया पदीय भागबण्डामा सहमति नजुट्दा अन्योलमा परेको छ। रेशम चौधरी एकता प्रक्रियालाई जति सक्दो छिटो टुंग्याउने पक्षमा छन् भने सीके राउत पनि सहमतिका लागि लचिलो देखिएका छन्। तर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने अझै सहमत नभएकाले पार्टी एकता प्रक्रिया अघि बढ्न सकेको छैन।

जनमत र नागरिक उन्मुक्तिबीच पार्टी अध्यक्ष, चुनाव चिन्ह र नामको विषयमा विवाद रहेको छ। सीके राउतलाई अध्यक्ष, रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने प्रस्ताव गरिएको छ। पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने र चुनाव चिन्ह ‘नागरिक उन्मुक्ति’ को लिनेबारे छलफल भए पनि सहमति जुट्न सकेको छैन।

रञ्जिता श्रेष्ठले सहमति जनाइसकेकी छैनन्, तर रेशम चौधरी उनलाई मनाउने प्रयासमा छन्। नागरिक उन्मुक्ति पार्टीले एकताको विषयमा चैत ८ र ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। यस बैठकले एकता गर्ने वा नगर्ने टुंगो लगाउने स्रोतले बताएको छ।

जनमत पार्टीले भने उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाएर एकताको तयारी गरिरहेको छ। तर, नागरिक उन्मुक्तिले अहिलेसम्म वार्ता समिति गठन गरिसकेको छैन। दुवै पक्षबीच सहमति भएमा प्रतिनिधिसभामा छठौं ठूलो दल बन्न सक्ने सम्भावना छ। तर, रञ्जिता श्रेष्ठ सहमत नभए एकता प्रक्रिया स्थगित हुन सक्ने अनुमान गरिएको छ। अब चैत ८–९ को बैठकपछि मात्र जनमत र नागरिक उन्मुक्ति दलको भविष्य स्पष्ट हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *