राजनीति

बेलुन विस्फोट घटना छानबिनका लागि गृह मन्त्रालयले गर्‍याे आठ सदस्यीय छानबिन समिति

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन गरेका छन् । सो घटनाको विषयमा आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । एक जना विस्फोटक पदार्थ विज्ञ समेत समितिमा
हुनेछन् ।

गृह मन्त्रालयका अनुसार समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाबारे अनुसन्धान सुरु गरेको छ । त्यसको विस्तृत छानबिन र आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा पूर्वसतर्कता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ ।

शनिबार भएको सो घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घाइते भएका थिए । शनिबार बेलुकी नै गृहमन्त्री लेखक जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था बुझ्न अस्पताल पुगेका थिए । अहिले अर्थमन्त्री पौडेल र मेयरको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *