काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।
उनले आफूलाई एमालेले नभई ओली गुटले कारबाही गरेर पार्टीबाट निकाले बताए। ‘मलाई पार्टीले कारबाही गरेको होइन। ओली गुटले नरुचाएको हो। सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएँ,’ उनले भने।
रावलले एमालेमा आफूले गरेको संघर्ष र विभिन्न कमिटीमा रहेर निर्वाह गरेको भूमिकाको स्मान हुन नसकेको गुनासो गरेका छन्। आफूलाई चितवनमा सम्पन्न महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेको भन्दै कारबाही गरिएको भनिएको बताउँदै रावलले ओलीलाई पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरेका छन्।
रावलले कवितामार्फत नै पत्रकार सम्मेलनमा सम्बोधनको सुरुवात गरेका थिए। कवितामा उनको चरम असन्तुष्टि भाव समेटिएको छ।नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोजिएको बताएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले सो कुरा बताएका हुन् । ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?,’ रावलको प्रश्न छ ।
एमालेबाट निष्काशित भएपछि रावलले आज पहिलोपटक पत्रकार सम्मेलन गरेका हुन् । उनले वर्तमान सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप पनि लगाए ।
‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,’ रावलले भने, ‘भाडाका सिपाही, श्रमीक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’
यस्तो छ रावलको कविता:
सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि,
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ
चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा
भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो
यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ




