काठमाडौं । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारी सम्बन्धि संसदीय छानविन समितिले दिएको सिफारिसका आधारमा सहकारी ठगी आरोपमा दोषी ठहरिएका जो कसैमाथि पनि कारबाही हुने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ कास्कीको नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन समारोहमा आइतबार पोखरामा सम्बोधन गर्दै मन्त्री गुरुङले छानविन समितिले दिएको सिफारिसको आधारमा सहकारी ठगी आरोपित सबै माथि आवश्यक कारबाही हुने चेतावनी दिँदै दोषी ठहरिएका कुनै पाटीको भए पनि नछाड्ने बताए ।
सहकारी ठगी आरोपमा प्रतिवेदन, अनुसन्धान र अध्ययनले देखाएका दोषीलाई राज्यले ढिलो चाँडो आवश्यक कारबाही गर्ने गरी छाड्ने उनले विश्वास व्यक्त गरे । दोषी आरोपितहरू एमाले, काँग्रेस, माओवादीका नेता कार्यकर्ता जो कसैलाई नछाड्ने उनले दाबी गरे । प्रतिवेदनले अभियोजन लगाएको अध्ययन र अनुसन्धानले देखाएको कुरामा राज्यले कसैलाई छुट नदिने मन्त्री गुरुङले जनाए । देशमा सुशासन कायम गर्न राजनीति स्थिरता आवश्यक भएको उनको भनाई थियो ।
हाम्रो संस्कार र संस्कृति सभ्य संस्कृति भएको उल्लेख गर्दै उनले पछिल्लो समयमा यसमा पनि धेरै अराजक भएको उनले दाबी गरे । हाम्रो आदर्शलाई हमला गर्दै समाजलाई अराजक तर्फ लैजाने काम सामाजिक सञ्जाल र केही अनलाइन सञ्चार माध्यमहरूले गर्न थालेको मन्त्री गुरुङको भनाई थियो ।
अनलाइन सञ्चार माध्यमको प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न सञ्चार ऐन क्याबिनेटबाट पास भई सकेको बताउँदै मन्त्री गुरुङले तत्काल संसद् चल्ने अवस्था नभए अध्यादेशबाट सञ्चार ऐन ल्याउने जनाए ।
साइबर क्राइम अनलाइनका माध्यमबाट बढेकोले त्यसलाई नियन्त्रण गर्न साइबर क्राइमको विधेयक क्याबिनेटमा पुगेको मन्त्री गुरुङले जनाए । आम सञ्चार विधेयक छलफलको क्रममा भएकोले केही सुझाव भए दिन उनले आग्रह गरे ।
देशको राजश्व वृद्धि किन भएन यसको कारणहरू खोज्न उनले पत्रकार सहित अन्य समाजका बौद्धिक वर्ग माझ आग्रह गरे । पूजिगत खर्च किन कम हुन्छ यस्ता विषयमा पत्रकारहरू अली चासो दिन मन्त्री गुरुङले आग्रह गरे ।
महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारिता पेशा नै जोखिममा रहेको उल्लेख गर्दै पत्रकारको हकहितमा काम गर्ने बताए । अध्यक्षका प्रत्याशी राजेन्द्र अधिकारीले सहकारी ठगिमा सत्ताधारी दलका नेताहरू भएकोले उनीहरू उपर सरकारले कारबाही गर्न माग गरे ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पत्रकारलाई स्वतन्त्र हुन सुझाव दिनु भयो । पत्रकार स्वाभिमान बन्न उनले आग्रह गरे । नेकपा माओवादी केन्द्र कास्कीका जिल्ला संयोजक विश्वप्रकाश लामिछानेले पहिला मिसन पत्रकारिता सुरू भएको स्मरण गर्दै राजनीति पार्टी भन्दा माथि उठेर समाज रूपान्तरणमा पत्रकारले आफ्नो भूमिका निभाउन आग्रह गरे ।
निर्वाचन कमिटीका संयोजक महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिस्टार तथा महांसघ कास्कीका निवर्तमान अध्यक्ष बिमला भण्डारी, महासङ्घ कास्कीका पूर्व अध्यक्ष रविन्द्र बास्तोला, निर्वाचन समितिका सदस्य गोविन्द पौडेल लगायतले पत्रकारिता क्षेत्र स्वतन्त्र ढंगले गर्नुपर्नेमा जोड दिए । गत असोज २८ गते भएको निर्वाचनबाट माधव बराल नेतृत्व ३ बर्षीय कार्यकालका लागि निर्वाचित भएको थियो ।




