देश

सरकारी सूचनापछि च्यासल छाड्ने तयारीमा एमाले, नयाँ कार्यालय खोजी सुरु

काठमाडौं । नेकपा (एमाले) ले ललितपुरको च्यासलस्थित आफ्नो केन्द्रीय पार्टी कार्यालय स्थानान्तरण गर्ने तयारी थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा प्रयोग भइरहेका सरकारी जग्गा खाली गर्न सूचना जारी गरेपछि एमाले कार्यालय पनि प्रभावित हुने देखिएको हो।

एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा मन्त्रिपरिषद्बाट स्वीकृति लिएर च्यासलस्थित सरकारी जग्गा प्रयोग गर्दै आएको थियो। तर, उक्त जग्गा हालसम्म कानुनी रूपमा ‘लिज’ प्रक्रियामा नलगिएकाले मन्त्रालयको पछिल्लो सूचनापछि कार्यालय सार्ने दबाब बढेको छ।

पार्टी सचिव पद्मा अर्याल ले नयाँ स्थान खोज्ने काम भइरहेको जानकारी दिँदै च्यासल कार्यालय लामो समयदेखि उपयुक्त नभएको बताइन्। उनका अनुसार वर्षायाममा कार्यालय डुबानमा पर्ने समस्या बारम्बार दोहोरिने गरेको छ। एमालेले २०५८ सालदेखि उक्त स्थानमा पार्टी गतिविधि सञ्चालन गर्दै आएको छ। करिब १२ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको जग्गा हालसम्म औपचारिक लिज सम्झौतामा नजाँदा कानुनी जटिलता उत्पन्न भएको हो।सरकारले पछिल्लो समय भोगाधिकारका नाममा प्रयोग भइरहेका सरकारी जग्गा व्यवस्थित गर्ने अभियान अघि बढाइरहेका बेला प्रमुख राजनीतिक दलको कार्यालयसमेत त्यसको दायरामा परेको छ। यसले सार्वजनिक सम्पत्ति प्रयोगबारे राजनीतिक दलहरू स्वयं कति पारदर्शी छन् भन्ने बहससमेत सुरु भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *