काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारीको बचत रकम ठगी र हिनामिना गर्ने कसैले उन्मुक्ति नपाउने बताएका छन् । गृहमन्त्रीले बुधबार नेपाल प्रेस युनियनले रूपन्देहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएका हुन् । सहकारीको रकम अपचलन गर्ने सयौँ व्यक्ति जेल गएका घटनाहरु प्रयाप्त नै भएकाले आगामी दिन पनि सहकारीको रकम अपचलन गर्नेमाथि कारबाही हुने गृहमन्त्री लेखकले बताए ।
गृहमन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने सयौँ व्यक्तिमाथि अनुसन्धान र कारबाही भएको तर एक जनालाई मात्र सो व्यवहार गरेजस्तो गरी आलोचना र अनैतिक क्रियाकलापमा नलाग्न समेत गृहमन्त्री लेखकले आग्रह गरे । ेदेशमा देखा परेको सहकारीको समस्या हल गरी समाधानमा लागि रहेको सरकारकाविरुद्धमा विभिन्न आरोप र प्रत्यारोप लगाएको मान्य नहुने मन्त्री लेखकले बताए । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा अमर्यादित व्यवहार भएको भनि गरिएको चर्चा गलत भएको बताए ।
मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना हिनामिना गर्ने आरोपितमाथि अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताए । त्यस्ता आचरण गरेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने सरकारको दायित्व हो । सहकारी ठगीका मुख्य योजनाकार जिवी राईलाई ल्याउने कुरामा सरकार गम्भीरतापुर्वक लागेको गृहमन्त्री लेखकले बताए । सरकारले जीबी राईको पासपोर्ट रद्ध गर्ने तयारी समेत थालिसकेको छ ।




