काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसले चीनको बिकास परियोजना बीआरआई अन्तर्गतको अनुदान मात्र स्वीकार गर्ने पूर्ववतः अडानमा फेरबदल नभएको प्रष्ट पारेको छ ।
आज बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले सो अडान कायमै राखेको डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने कांग्रेसलाइ चीनको ऋण स्वीकार्य छैन् । आजको बैठकले चीनसँगको भएको सहमति अनुसार परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने पुनः प्रस्ट पारेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै कांग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको ठहर गरेको हो ।
‘बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ भनेर सहमति भयो भन्ने कुरा आएको छ’, डा. महतले भने, ‘ त्यसभित्र पनि अनुदान हुन्छ ।’ उनले बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा पुनः सहमति आवस्यक रहेको भन्दै त्यस्तो बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने बताए
बैठक पछि कांग्रेस प्रवक्ता महतले थप भने, ‘अहिले पनि हाम्रो भनाइ अनुदानमात्र लिने भन्ने हो । त्यो चीन सरकारको सवालमा मात्र होइन । आउने दिनमा पनि कुनै पिन सरकारबाट प्राप्त हुने ऋणका अनेकौँ सर्तहरु हुने भएकाले त्यस्ता शर्तसहित ऋण लिँदा देशलाई फाइदा हुँदैन भन्ने हाम्रो ठहर हो ।’