काठमाडौं । भ्लादिमिर पुटिन ले इरानसँग जोडिएको जारी द्वन्द्वले अन्तर्राष्ट्रिय परिस्थितिलाई जटिल बनाएको बताएका छन्। उनले युद्ध चाँडै अन्त्य हुने अपेक्षा व्यक्त गर्दै लामो समयसम्म तनाव कायम रहे सबै पक्षलाई नोक्सान हुने चेतावनी दिएका छन्।
बीबीसीका अनुसार शनिबार पत्रकारसँगको कुराकानीमा पुटिनले इरान तथा फारसको खाडी क्षेत्रका राष्ट्रहरूसँग रुसको मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै वर्तमान अवस्थाले मस्कोलाई पनि असहज स्थितिमा पुर्याएको बताएका हुन्।
उनले इरान र अमेरिकाबीच जारी कूटनीतिक संवादतर्फ संकेत गर्दै कुनै पनि पक्षले द्वन्द्वलाई लामो समयसम्म तन्काउन नचाहेको आफूलाई लागेको प्रतिक्रिया दिएका छन्।
यसअघि इरानी विदेशमन्त्री अब्बास अराघची ले रुस भ्रमणका क्रममा पुटिनसँग भेटवार्ता गरेका थिए। भेटमा क्षेत्रीय सुरक्षा अवस्था र सम्भावित समाधानका उपायबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रुसले पछिल्ला दिनमा लगातार सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै आएको छ। साथै मस्कोले आवश्यक परे इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका खेल्न तयार रहेको संकेतसमेत दिएको छ।




