राजनीति

कांग्रेसद्धारा १५ बुँदे आन्तरिक सर्कुलर जारी

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले १५ बुँदे आन्तरिक सर्कुलर जारी गरेको छ । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले १५ बुँदे आन्तरिक सर्कुलर जारी गर्दै सत्ता सहयात्री दल नेकपा एमालेलाई गालीगलौज गरेर नबिच्क्याउन मातहतका समितिलाई निर्देशन दिइएको छ । केन्द्रीय उपनिर्वाचन परिचालन समिति संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन केन्द्रित सर्कुलर जारी गरेका हुन् । केन्द्रीय उपनिर्वाचन परिचालन समिति संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन केन्द्रित सर्कुलर जारी गरेका हुन् । उपनिर्वाचन हुने स्थानीय तहका समिति, जिल्ला र प्रदेश कार्यसमितिहरूको नाममा बुधबार १५ बुँदे सर्कुलर जारी भएको हो ।

यस्तै कांग्रेसले सहकारी ठगीमा परेका नागरिकको बचत फिर्ता र दोषीलाई दण्ड दिलाउने प्रतिबद्धता मतदातासमक्ष जनाउन पनि निर्देशन दिएको छ .। स्थानीय तह निर्वाचन हुने सबै तहका वडा, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिलाई उक्त सर्कुलर पठाइएको हो । जसमा दलहरू बिच सद्भाव र सामाजिक एकताको विषय मुख्य रूपमा राखिएको स्रोतले जनाएको छ ।

‘चुनावी प्रतिस्पर्धाका बिच पनि दलहरूबिच सद्भाव र सामाजिक एकता कायम राख्न नेपाली कांग्रेसले नै विशेष समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुछ,’ सर्कुलरमा उल्लेख छ । जारी सर्कुलरमा नेकपा एमालेसँग सत्ता सहकार्यको विषय पनि समावेश छ । अर्थात् कांग्रेसले सत्तामा भएको गठबन्धनलाई असर नगर्ने गरी चुनावी अभियानलाई अघि बढाउने र आफ्नो मुख्य प्रतिस्पर्धी एमालेलाई पनि नबिच्क्याउने नीति लिएको छ ।

‘मुख्य प्रतिस्पर्धी दलसँग सरकारमा सँगै रहेको भए पनि सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धाको नीतिमा प्रस्ट हुनुपर्छ,’ सर्कुलरमा उल्लेख गरिएको छ । सर्कुलर मार्फत कांग्रेसले उपनिर्वाचन हुने भूगोलमा चुनाव केन्द्रित अभियान बाहेक अन्य कार्यक्रम मंसिर १६ गते अघि नगर्न पनि निर्देशन जारी गरेको छ । यस्तै मत प्रभावित गर्न सक्ने व्यक्तिहरूलाई जुनसुकै अवस्थामा रहे पनि आफ्नो स्थानीय तहमा पुगेर समय दिनैपर्ने उल्लेख गरेको छ ।


उपनिर्वाचनका लागि महामन्त्री शर्माको नेतृत्वमा बनेको केन्द्रीय निर्वाचन समन्वय संयोजन समितिले ६ वटा मुद्दा र प्रतिबद्धता तय गरेर रूख चिह्नमा मत माग्ने निर्णय गरेको छ । उक्त निर्णयसहित स्थानीय तहमा गरिएको परिपत्र अनुसार पहिलो नम्बरमा लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउने प्रतिबद्धतासहित मत माग्न निर्देशन दिइएको छ ।

.दोस्रो नम्बरमा कांग्रेसले स्थानीय तहलाई थप जनमुखी बनाउन मत माग्ने छ । तेस्रो नम्बरमा संघीय सरकारलाई अझ जिम्मेवार बनाउने उल्लेख छ । पार्टीले चौथो नम्बरमा सहकारी ठगीमा परेका नागरिकलाई बचत फिर्ता र दोषीलाई दण्ड दिलाउने एजेण्डा राखेको छ । पाँचौँ नम्बरमा गाउँठाउँमा विगतमा पुगेका विकासका कार्य नागरिक पंक्तिमा स्मरण गराउँदै अधुरा विकास योजनालाई गति दिएर नागरिकमा नयाँ विश्वास भर्ने कर्म गर्न भनिएको छ । छैटौँ एजेण्डाका रूपमा स्थानीयवासीको भावना र आवश्यकता अनुरुप स्थानीयस्तरका मुद्दाको जिम्मेवार ढंगले नेतृत्व गर्नका लागि कांग्रेसलाई जिताउन भन्दै मत माग्नेगरी तल्ला तहमा परिपत्र गरेको छ । मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ स्थानीय पदका लागि उपनिर्वाचन हुँदैछ । त्यसमध्ये ओखलढुंगा र कैलालीमा कांग्रेसका उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *