काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारी गर्न अस्वीकार गरेको छ।
नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) ले रेड कर्नर नोटिसका लागि पठाएको अनुरोधबारे इन्टरपोलले थप कागजात आवश्यक रहेको भन्दै प्रक्रिया अघि नबढाएको हो। एनसीबीका अनुसार पक्राउ पुर्जीको आधारमा मात्र रेड नोटिस जारी गर्न नमिल्ने भन्दै इन्टरपोलले थप प्रमाण माग गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चैत २४ गते जिल्ला अदालत काठमाडौँबाट देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी लिएको थियो। उनीहरू हाल उपचारका लागि हङकङमा रहेको बताइएको छ।
यसअघि देउवाले विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्तिसम्बन्धी आरोपहरू भ्रामक र झुटा रहेको दाबी गर्दै सार्वजनिक पदमा रहँदा सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाइसकेको स्पष्ट पारेका थिए।




